मोरङमा जेलबाट छुटे लगतै अर्को हत्या

मोरङमा गएराति धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ। मंगलबार राति उर्लाबारी नगरपालिका- ५ मा २१ वर्षीय कुशल दाहालको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

‘उनको ढाडमा धारिलो हतियार प्रहार गरेको गहिरो चोट छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्र बस्नेतले भने, ‘मंगलबार साँझ धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनको झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा गएराति ९ बजे मृत्यु भएको हो।’

उनको हत्या स्थानीय सुवास तामाङले गरेको आशंका प्रहरीले गरेको छ। दाहाल उर्लाबारी ४ का स्थायी बासिन्दा हुन्।उनीहरुबीच के विषयमा विवाद हुँदा घटना भयो नखुलेको बस्नेतले बताए। ‘घटनापछि तामाङ भागेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका दाहाललाई सुरुमा उपचारको लागि उर्लाबारीस्थित गोदाबारी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि लाइफलाइन अस्पताल दमक हुँदै उनलाई राति बिर्तामोडस्थित बीएन्डसी अस्पताल पुर्याइएकाे थियो।

तामाङ कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरेर करिब पाँच महिनाअघि मात्रै जेलबाट छुटेका व्यक्ति भएका डीएसपी बस्नेतले बताए।

तामाङले २०७१ असोज ८ गते राति ढुंगाले हानेर उर्लाबारी २ का नविन राईको हत्या गरेका थिए। राईको हत्या कसुरमा १० वर्ष कैद सजाय भुक्तान गरेपछि उनी करिब पाँच महिनाअघि मात्रै जेलबाट छुटेका थिए।