काठमाडौं : काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन्। तारकेश्वर नगरपालिका-२ पदमसालमा एकै परिवारका श्रीमान, श्रीमती र दुई छोराछोरी मृत भेटिएका हुन्।
गोरखा घर भई काभ्रेस्थली बस्दै आएका घरमुली ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, छोरी १३ वर्षीया आशिका पाण्डे र छोरा ८ वर्षीय आशिक पाण्डे मृत भेटिएका हुन्।
काठमाडौं प्रहरी परिसरका अनुसार तार्केश्वर नगरपालीका वडा नं २ पदमसालस्थित एउटा एकतले घरमा घरधनी दिनेशेको छोरी सोमबार विहान ८ बजे विद्यालय जानुपर्नेमा नआएपछि स्थानीयले प्रहरी प्रशासनलाई खबर गरेका छन्। सो क्रममा घरको झ्याल ढोका बन्द रहेको, घरबाट आवाज नआएको भनी प्रहरीलाई सूचना प्राप्त भएको थियो।
तत्कालै प्रहरी वृत्त बालाजुबाट प्रहरी अधिकृतसहिको अनुसन्धान टोली खटिएको थियो। घटनास्थलमा पुग्दा घरको झ्याल ढोकाहरु भित्रबाट चुकुल लगाई बन्द अवस्थामा रहेको थियो।
पाण्डेकी श्रीमती सुनिता काप्री पाण्डे युके जाने तयारीमा रहेको स्थानीयले बताएका छन्। स्थानीय सुशान्त न्यौपानेले दिएको जानकारी अनुसार श्रीमान र श्रीमतीबीच मेलमेलाप थिएन। सधैजसो झैंझगडा भइरहन्थ्यो। पारिवारिक झगडा ३ पटकसम्म प्रहरीसम्म पनि पुगेको थियो। तर, सम्बन्ध सुध्रिएको थिएन।
दिनेशले परिवारको हत्या गरेर आफूले आत्महत्या गरेको आशंका प्रहरीको छ। पहिला श्रीमतीको हत्या गरेर छोराछोरीलाई चक्कु प्रहार गरेपछि अन्तमा आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनास्थलमा सुसाइट नोट भेटिएको प्रहरीले जनाएको छ।