सुदूरपश्चिम प्रदेशको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आइतबार बेलुका ५ बजेसम्म सरकार गठनका लागि आह्वान गरेका हुन् ।
आइतबार ५ बजेभित्र सुदूरपश्चिम प्रदेशसभामा रहेका दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभाका सदस्यले मुख्यमन्त्री पदमा दाबी पेस गर्न सक्नेछन् ।
मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनको आह्वान गरेका हुन् । सुदूरपश्चिममा नेपाली कांग्रेसले सरकार बनाउने तयारी गरेको छ। मुख्यमन्त्रीका लागि आकांक्षी धेरै भएपछि कांग्रेसले सो विषयमा निर्णय गर्न सकेको छैन ।













