प्रभु बैंकले कमायो साढे ४ अर्ब खुद नाफा, लाभांश क्षमता कति ?

गत आर्थिक वर्षमा प्रभु बैंक लिमिटेडले आकर्षक प्रगति गरेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१को वित्तिय विवरण अनुसार साढे ४ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ। आर्थिक वर्ष २०७९/८० मा २८ करोड २ लाख रुपैयाँमात्रै खुद नाफा कमाएको बैंकले आव २०८०/८१ मा ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ कमाएको बैंकद्वारा प्रकाशित वित्तीय विवरणमा उल्लेख छ।

गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै बैंकले सोअवधिमा १अर्ब २२ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको उल्लेख गरेको छ। हाल २३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले उक्त अवधिमा मुनाफाबाट सेयरधनीलाई ५.२० प्रतिशत लाभांश वितरणको क्षमता राख्छ। एक वर्षको अवधिमा बैंकले नाफामा उल्लेख्य सुधार गर्नुमा निष्कृय कर्जामा गरिएको नोक्सानी व्यवस्था फिर्ता (इम्प्रेरियर चार्ज रिभर्स) मूख्य कारण देखिन्छ।

आव २०७९÷८० मा बैंकको चार्ज ५ अर्ब २१ करोड १ लाख रुपैयाँ नकारात्मक रहेकोमा गत आवको असार मसान्तसम्म ५५ करोड ६८ लाख रुपैयाँ नकारात्मक रहेको छ। बैंकले कर्जा नोक्सानी गरेको प्रोभिजन फिर्ता हुँदा बैंकको खुद नाफा वृद्धि भएको सार्वजनिक वित्तीय विवरणमा देखिन्छ। यसैगरी गत आवमा बैंकले ३ खर्ब ५ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

जसबाट बैंकले १२ अर्ब २ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवमा बैंकले १० अर्ब ६ कराोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। साथै बैंकले गत आवमा १४ अर्ब ६७ करोड रुपैयाँ संचालन आम्दानी र ७ अर्ब ५ करोड रुपैयाँ संचालन नाफा कमाएको छ। समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा अनुपात ०.२ प्रतिशत बिन्दुले बढेर ४.७८ प्रतिशत पुगेको छ।

साथै गत आवमा बैंकको कर्जा निक्षेप अनुपात ७४.६६ प्रतिशत बेसरेट८.२० प्रतिशत स्प्रेडरेट ३.९७ प्रतिशत, प्रतिसेयर आम्दानी १९ रुपैयाँ ०३ पैसा र प्रतिसेयर नेथवर्क १ सय ५४ रुपैयाँ ७६ पैसा रहेको छ।