गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा गएको पहिरोले २ वटा घर पुरिएका छन् । घर पुरिँदा चार जनाको मृत्यु भएको छ । स्थानीय विष्णु विक र हुकुम विकको घरमाथिबाट खसेको लेदोसहितको पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अन्दाजी ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीय मसुरी विक र साढे दुई वर्षीया रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केशीले जानकारी दिए ।
पहिरोले पुरिँदा दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा ३१ वर्षीय विष्णु र २३ वर्षीया मुना विक रहेका छन् । उनीहरूको शरीरका विभिन्न स्थानहरूमा चोट लागेको प्रहरी निरीक्षक केशीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।