सिमलताल दुर्घटना अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

सिमलताल दुर्घटना अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ ।

मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यदलले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो । कार्यदलका संयोजक समेत रहेका गृहमन्त्रालयका सहसचिव छवि रिजालले मन्त्री लेखक समक्ष प्रतिवेदन पेश गरे ।

आफू मन्त्री नियुक्त भएपछि लेखकले असार ३१ गते दुर्घटना अध्ययनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका थिए । कार्यदलले साउन २ गतेदेखि आफ्नो काम थालेको थियो ।

दुर्घटनाको कारण, मृतक परिवार पाउनपर्ने क्षतिपूर्ति र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन के गर्न सकिन्छ भन्ने विषय समेटेर कार्यदलले प्रतिवेदन तयार पारेको छ ।

गएको असार २८ गते वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

ती दुवै बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।