भ्रष्टाचार नियन्त्रण र निवारण प्रभावकारी बनाउन जरुरी छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण र निवारण प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।

मंगलबार संघीय संसद, प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ मुलुकमा सुशासन कायम गर्न सरकारले सोसम्बन्धी ऐन संशोधन गर्न चाहेको पनि स्पष्ट पारे। उनले देशलाई विकासको बाटोमा अघि बढाउँदै समृद्धि हासिल गर्न पनि सोहीअनुसार ऐन आवश्यक परेको बताए ।

‘देशलाई विकासको बाटोमा अघि बढाउँदै समृद्धि हासिल गर्न सक्छौँ र भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ सुशासन कायम गर्न सक्छौँ‚’ उनले भने, ‘यसरी भ्रष्टाचार नियन्त्रण र निवारण प्रभावकारी बनाउन आवश्यक छ र त्यसरी नै भ्रष्टाचार निवारण ऐन २०५९ मा रहेको भ्रष्टाचारसम्बन्धी कसुरको परिभाषा, सार्वजनिक संस्था र कसुर र सजाय, अनुसन्धान तथा अभियोजन लगायतका विषयमा संशोधन अघि मैले भनेको प्रयोजनका लागि आवश्यक देखियो ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि दोषीविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने पनि बताए ।