यी ३४ जिल्लामा दुई दिन रात्रिबस सञ्चालन नहुने

मंगलबार र बुधबार देशका ३४ जिल्लामा रात्रिकालीन बस सञ्चालन नहुने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सूचना जारी गरेर भारी वर्षा र अति भारी वर्षा हुनसक्ने भएकाले पाँच वटा प्रदेशका विभिन्न जिल्लामा रात्रिकालीन बस सञ्चालन नगर्न अनुरोध गरेको छ ।

उच्च जोखिममा रहेका जिल्लामा कोशी प्रदेशमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम छन् भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा रहेका छन् । त्यसैगरी गण्डकी प्रदेशमा म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा छन् ।

लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम रहेका छन्। त्यस्तै सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी उच्च जोखिममा रहेका छन् ।

यी जिल्लाहरूमा अति भारी वर्षाका कारण विपद्का घटना बढ्न सक्ने हुनाले रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको प्राधिकरणका उपसचिव एवं प्रवक्ता डा. डिजन भट्टराईले बताए ।

प्राधिकरणले भारी वर्षा र अति भारी वर्षा हुन सक्ने जिल्लामा विपद्को जोखिममा रहेका मानिसहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न पनि आग्रह गरेको छ ।