रवि लामिछाने सहित २६ जनासँग सोधपुछ गर्दै सहकारी छानबिन समिति

सहकारी संस्थाको बचत रकम अपचलन दुरूपयोग सम्बन्धमा छानविन गर्न गठित संसदीय विशेष समितिले सोधपुछका लागि केही व्यक्तिहरुको लिस्ट तयार पारेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित २६ जना रहेको बताइएको छ ।

संसदीय विशेष समितिले यसअघि विज्ञ, सरोकारवाला, समितिको कार्यादेशमा समावेश भएको सहकारीका बचतकर्ताहरुसँग छलफल र आवश्यक प्रमाण संकलन गरिसकेको छ ।

अब समितिले ती सहकारी ठगीको आरोप लागेर थुनामा रहेका र थुनाबाहिरै रहेकाहरुसँग सोधपुछ गर्न लागेको बताइएको छ । उनीहरुलाई प्रहरी अनुसन्धान जसरी नभएर वास्तविक तथ्य पत्ता लगाउनका लागि सोधपुछ गर्न लागिएको बताइएको छ ।

सहकारी ठगीमा संलग्न रही हाल फरार रहेका जीबी राई, प्रेमध्वज लामा, देवकुमार नेपाली, तेजबहादुर तामाङ लगायत १८ जनालाई पक्राउ गर्न समितिले यसअघि नै गृह मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।