कोरोना सङ्क्रमणबाट मृत्यु हुने डाक्टरको परिवारलाई १ करोड दिने केजरीवालको घोषणा

भारतको दिल्ली सरकारले कोरोना संक्रमणबाट मृत्यु हुने डाक्टरको परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिने घोषणा गरेको छ । आइतवार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री अरविंद केजरीवालले यस्तो घोषणा गरेका हुन् ।

बिरामीको उपचार गर्दै गर्दा कोरोना सङ्क्रमित भएर ज्यान गुमाउने डाक्टरहरुको परिवारलाई क्षतिपूर्ति स्वरुप उक्त रकम दिने भएको हो ।

मुख्यमन्त्री केजरीवालले लकडाउनले दिल्लीलाई फाइदा पुगेको पनि बताएका छन् । यही कारण राजधानीमा पोजेटिभ दर ३६ प्रतिशतबाट घटेर दुई दशमलव पाँच प्रतिशतमा घटेको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘अवस्था सुधारिँदै गएको छ तर हामीले युद्ध जितिसकेका भने छैनौँ । हामी अझै पनि अनुशासित र संयमित बन्नुपर्छ ।’

यसैबीच दिल्लीमा एक हप्ताका लागि लकडाउन बढाइएको छ । अब राजधानी दिल्लीमा लकडाउन बढाएर मे ३१ बिहान ५ बजेसम्म लागू गरिएको छ ।

सम्बन्धित समाचार