काठमाडौँ– नेपाल र अस्ट्रेलियाबीच सोमबार जलस्रोत व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
परराष्ट्र सचिव भरतराज पौड्याल र समकक्षी जान आडम्सबीच भएको द्विपक्षीय वार्तापछि समझदारीपत्रमा हस्ताक्षर भएको क्यानबेरास्थित नेपाली दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा सहभागी जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरे र अस्ट्रेलियाका परराष्ट्र सचिव आडम्सले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
सचिव पौड्याल र समकक्षी आडम्सबीच द्विपक्षीय सम्बन्धका सबै विषयमा छलफल भएको र आगामी दिनमा आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य सुदृढ गर्ने सहमति भएको दूतावासले जनाएको छ।
नेपाल–अस्ट्रेलिया परराष्ट्र मन्त्रालयस्तरीय संयुक्त परामर्श संयन्त्रको दोस्रो बैठकमा भाग लिने क्रममा सचिव पौड्याल नेतृत्वको नेपाली टोली अस्ट्रेलिया भ्रमणमा छ। संयन्त्रको बैठक भोलि मंगलबार आयोजना हुँदै छ।
सन् २०१७ जुलाईमा उक्त संयन्त्र स्थापना भएको थियो। द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका साझा विषयमा छलफल गर्न उक्त संयन्त्र स्थापना गरिएको हो।
परराष्ट्रका दक्षिण एसिया महाशाखा प्रमुख लोकबहादुर थापा, अस्ट्रेलियास्थित नेपाली राजदूत कैलाशराज पोख्रेल र परराष्ट्रकी उपसचिव सीता बस्नेत प्रतिनिधिमण्डलमा सहभागी छन्।