तीजको पौराणिक महत्व

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व तीज एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।

यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका केही ठाँउमा पनि मनाइने गरिएको छ ।

भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकि थिईन् त्यो दिन यहि हरितालिका तीजको दिन थियो, त्यसै दिनदेखि आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउँदै आएका छन् ।

तीजमा विवाहित महिलाहरू आफ्नो जन्मघर माइत फर्कने र मिठा मिठा परिकारहरु खाँदै नाचगान गरेर रमाइलो गर्ने परम्परा छ । तीजमा अर्को पनि एउटा महत्वपूर्ण परम्परा छ, त्यो हो व्रत अथवा उपवास बस्नु । विवाहित तथा अविवाहित महिलाहरु तीजको दिनमा व्रत बस्ने परम्परा रहेको छ ।

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् ।

यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो ।

तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् ।

त्यस्तै परम्पराअनुसार व्रत बस्नेले अखण्ड सौभाग्य पाउने तथा रोग व्याधी निको हुन्छ भन्ने मान्यता रहेको छ ।

तीजको अवसरमा व्रत बसेमा आफ्ना मनोकामना पूरा हुने जनविश्वास पनि रहँदै आएको छ ।

सम्बन्धित समाचार