रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित तल्लोबजारमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि बस्ने अर्का एक घाइते भएका छन् ।
चन्द्रनिगाहपुर–गौर सडकखण्डस्थित चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षीय प्रहरी जवान नविनकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
वृन्दावन नगरपालिका–३ स्थित विश्रामपुरमा ठेगाना भएका यादव गम्भीर घाइते थिए । उनलाई तत्कालै चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा अस्पतालमा लगिए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनायो ।
प्रहरी गुल्म बारा दरबन्दी भई अस्थायी प्रहरी पोस्ट लँगडा चोक बारामा कार्यरत प्रहरी जवान यादव कार्यालयको काम विशेषले रौतहट आएको बेला दुर्घटनामा परेका हुन् । दुर्घटनामा परि मोटरसाइकलको पछाडि बस्ने वृन्दावन– १ २५ वर्षिय नविनकुमार चौधरीको बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनायो ।