नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी नेतृत्व छाडेर संरक्षक भएर बस्न सुझाव दिएका छन् । साउन २५ गतेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठक अन्तर्गत साउन २६ गते १४ पृष्ठ लामो लिखित सुझाव पेस गरेका शर्माले यस्तो प्रस्ताव गरेका हुन् ।
नेतृत्व हस्तान्तरण सम्बन्धमा उनले भनेका छन्, “अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण ।”
शर्माले युवालाई सांगठनिक नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव पनि गरेका छन् । उनले आफ्नो प्रस्तावलाई पूर्वाग्रहको रुपमा नलिन पनि अनुरोध गरेका छन् । हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उनको भूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उनले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने विचार राखेका हुन् ।
‘अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने,’ शर्माले नेतृत्व पुस्तान्तरण भन्दै लेखेका छन्, ‘हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मुल्यांकन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवालाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने ।’