नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार पनि बसेको छ । बैठकमा केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको भविष्यको लागि गर्नैपर्ने कामको सूचीसहित धारणा राखेका छन् ।
उनले समयमै १५ औं महाधिवेशन हुनुपर्ने कुरा उठाए । २०७८ मंसिरमा १४ औं महाधिवेशन भएकोले विधानअनुसार चार वर्षको अन्तरालमा २०८२ मंसिरमा १५ औं महाधिवेशन सुनिश्चित हुनुपर्ने कोइरालाको भनाइ छ ।
सभापतिलाई सम्बोधन गर्दै कोइरालाले भनेका छन्, ‘पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अविलम्व समितिहरू बनाऔँ । १४औँ महाधिवेशनदेखि थाँती रहेका क्रियाशील सदस्यता लगायतका समस्याहरु तत्काल समाधान गरी २०८२ मंसिरमा १५औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस् । यो वा त्यो बहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ । ठीक चारवर्षमा कांग्रेसको महाधिविेशन होस् ।’
उनले १४ औं महाधिवेशनदेखि नै टुंग्याउन बाँकी रहेका क्रियाशील सदस्यतालगायत समस्या समाधान गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
‘यो वा त्यो बाहनामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ,’ उनले भने, ‘म क्रियाशील सदस्यता वितरण र महाधिवेशनको लागि जिम्मेवारी पाएका साथीहरूलाई पनि समयबद्ध कार्यतालिका बनाएर र समयमा पार्टी महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुटौँ भन्छु ।’
कोइरालाले विगतको आठ वर्षमा राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको समीक्षा नगर्ने बताउँदै भनेका छन्, ‘कांग्रेस हिजो किन खुम्चियो र आज फेरी किन गठवन्धनको कारण ठूलो दलको रुपमा संसदमा उपस्थित छ, यद्यपि कांग्रेसको जनाधार खुम्चिएको निर्वाचनले देखाएको छ । यी सबैको वस्तुनिष्ठ समीक्षा गर्ने जिम्मा म इतिहासलाई छाडिदिन्छु ।’
उनले अहिले दुई ठूला दलले संसदीय गणितको घमण्ड र राजनीतिक आग्रह र पूर्वाग्रहमा अल्झेर नभई सोझै जनताप्रति उत्तरदायी भएमात्र लोकतन्त्रविरोधी शक्तिलाई परास्त गर्न सकिने ठहरसमेत गरेका छन् ।
आफ्नै राजनीतिक प्रतिस्पर्धी (एमालेले) ले सरकारको नेतृत्व गरिरहेकाले कांग्रेसबाट गएका मन्त्रीले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सकेनन् भने पार्टीमा नसोचेको गिरावट आउने खतरा आफूले देखेको कोइरालाको धारणा छ ।