काठमाडौं । ‘स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेशको मुगुलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।
स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।
जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगु मकार्मा रोङ्ग गाउँपालिकालाई यसअघि पूर्णखोप सुनिश्चितता घोषणा गरिएकाले सोही आधारमा जिल्लालाई पनि घोषणा गरिएको जनाइएको छ ।