चितवनको भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी गर्ने क्रममा एक महिलाको मृत्यु भएपछि छानबिनका समिति गठन गरिएको छ ।
चितवनको गैँडाकोट बस्ने ३९ वर्षीया सम्झना काफ्ले ढकालको पाठेघरको बायोप्सी गर्ने क्रममा मृत्यु भएपछि आफन्तले शव बुझेका थिएनन् । अस्पतालको लापरवाहीले मृत्यु भएको आफन्तको आरोपपछि घटनाको छानबिन गर्न बुधबार (आज) छानबिन समिति गठन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सुरक्षा समितिको बैठकले भरतपुर अस्पतालका डाक्टर प्रकाश खतिवडा संयोजक रहने गरी ९ सदस्यीय छानबिन समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
समितिमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत अन्तिम सिन्जाली, बीपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका एनेस्थेसियन डा. प्रदीप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, अनुसन्धान अधिकृत अजय शर्मा, पीडित पक्षका तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल, मन्दिरा काफ्ले रहेका छन् । भरतपुर अस्पतालका शाखा अधिकृत तुलसीराम आचार्यलाई सदस्य सचिव तोकिएको पनि प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।
छानबिन समितिले ७ दिनभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई पनि उक्त घटनाबारे छानबिन गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । समिति गठन भएपछि मृतकका आफन्तले पनि शव बुझेर लैजाने सहमति गरेको प्रजिअ यादवले जानकारी दिए ।
मंगलबार दिउँसो अस्पताल भर्ना गरिएकी ढकालको राति १० बजेतिर बायोप्सी गर्ने क्रममा मृत्यु भएको थियो ।