नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट, भ्रष्टाचारको मुद्दामा हदम्याद मान्दैनौँ : रवि लामिछाने

Image

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुलाई भ्रष्टाचारको मुद्दामा हदम्याद मान्य नहुने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको विशेष समयमा उनले भ्रष्टाचारको मुद्दामा कुनै पनि हदम्याद राखिन नहुने बताएका हुन् ।

‘कतै यो पास हुने त होइन, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद लाग्ने त होइन भन्ने चिन्ता रहेछ । म सिंगो सदन र देशलाई जानकारी गराउन चाहन्छु, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद लागू हुनेछैन । नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट, ५ वर्षे लागू हुने छैन,’ सभापति लामिछानेले भने ।

केही सचेत युवाहरुको भ्रष्टाचारको मुद्दामा हदम्याद राखिन नहुने भन्दै एउटा भिडियो बनाएको र सो भिडियोमा केही सांसदहरुलाई फोन गरेर दबाब दिन भनिएकोमा आफूलाई दुई हजारभन्दा बढी युवाहरुले फोन गरेको बताए । उनले यसरी भिडियो बनाएर भ्रष्टाचारको मुद्दामा हदम्याद राखिन हुँदैन भनेर दबाब दिने युवाहरुलाई ‘सचेत युवा’ को संज्ञा दिँदै उनले धन्यवाद व्यक्त गरे ।

‘देशका होनाहार युवाहरु, १८, १९, २० वर्षका युवाहरुले देशको चिन्ता गरेर हामीलाई फोन गरेका छन् । म सदन छिरेर अहिले भर्खरै चेक गरेको धेरै कल आएको छ । ती सबै युवाहरुको एउटै चिन्ता छ, भ्रष्टाचारको मामलामा कुनै हदम्याद हुन हुँदैन भन्ने छ,’ लामिछानेले भने ।

साथै, गलत मनसाय राखेर मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गराउने क्रम रोकिनु पर्ने उनको माग छ ।