तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु भारतीय भएको खुलेको छ। बसका यात्रुहरू भारतको गोरखपुरका रहेको प्रहरीले जानकारी दिएको छ।
कास्की प्रहरी प्रमुख मोहन थापाका अनुसार गत भदौ ५ गते (दुई दिनअघि) उनीहरू गोरखपुरबाट पोखरा आएका थिए। उनीहरू पोखरास्थित मझेरी रिसोर्टमा बसेका थिए।
बुधबार र बिहीबार उक्त रिसोर्टमा बसेर उनीहरू शुक्रबार बिहान काठमाडौँका लागि हिँडेका थिए। उनीहरू काठमाडौंस्थित पशुपतिनाथको दर्शन गर्न हिँडेको जनाइएको छ । रिसोर्टमा उनीहरूले आफूहरू भैरहवा हुँदै पोखरा आएको र काठमाडौं पशुपतिनाथको दर्शन गरेर मात्रै स्वदेश फर्किने बताएका थिए ।
यात्राकै क्रममा उनीहरू आबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो । बसमा ४१ जना यात्रु, एक जना चालक र एक जना सहचालक सवार थिए । बसमा रहेका १४ जनाको मृत्यु भएको छ भने १६ जनालाई उद्धार गरेर उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ।
यसैबीच नेपालस्थित भारतीय दूतावासका प्रतिनिधि पनि घटनास्थल पुगेका छन् ।