सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् ।
अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी नगरपालिका–४ सेकाहाका अन्दाजी ४५ वर्षीय गङ्गाबहादुर गुरुङ बेपत्ता भएका छन् ।
शनिबार बिहान साढे ७ बजे गुरुङलाई कागुवा खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिए ।
आयोजनाको विद्युत् गृहस्थल पुखुवादेखि बिदामा घर फर्किंदै गरेका गुरुङ खोला तर्ने क्रममा कागुवाले बगाउँदा बेपत्ता भएका हुन् । बेपत्ता भएका गुरुङको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
आयोजनामा नेपाली र भारतियसहित तीन हजार बढी मजदुर कार्यरत छन् । आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ ।
आयोजनाबाट नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् एक सय ९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौं रुपैयाँ पाउनेछ । आयोजना बनाउन रु एक खर्ब १५ अर्ब लाग्ने अनुमान गरिएको छ ।