कैलालीको गौरीगङ्गा नगरपालिका–७ महुलिया गाउँमा गए राति ओछ्यानमा सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ । बालिकाकी हजुरआमा अन्दाजी ७२ वर्षीया रिजु घर्तीमगरलाई सर्पले डसेको र उनको उपचार भइरहेको छ ।
मूलढोकामा रहेको प्वालबाट राति घरभित्र पसेको करेत नामक सर्पको डसाइबाट स्थानीय पाँच वर्षीया बालिका लिजा र ६ वर्षीया काजल घर्तीमगरको मृत्यु भएको वडाध्यक्ष आशाराम डगौरा थारूले जानकारी दिए । करेतले पहिले ओछ्यानमा सुतेका दुवै बालिकालाई शरीरका दुई–तीन ठाउँमा डसेपछि बालिकाकी हजुरआमा रिजुको काँधमा डसेको थियो ।
शरीरमाथि हिँडिरहेको थाहा पाएपछि वृद्धा रिजुले सोही सर्पलाई हातले समातेर फ्याँक्ने बेला उनको हातमा समेत डसेको घटनास्थल पुगेका डगौरा थारूले बताए ।
घाइते वृद्धालाई सर्पदंश उपचार केन्द्रबाट थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ ।