रामेछापमा पहिरो : दुई जनाको मृत्यु, आठ बेपत्ता

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेकखर्कमा पहरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ। ८ जना वेपत्ता भएका छन् ।

शनिबार रातिदेखि परेको अविरल वर्षापछि वडा नम्बर २ र ३ को सीमाक्षेत्र भएर खसेको र पहिरोले तीनवटा घर बगाएको रामेछापका प्रहरी प्रमुख प्रदिपकुमार सिंहले जानकारी दिए ।

वडा नम्बर ३ र २ को सिमानामा पहिरो जाँदा ४ वटा घर बगेको र केही घरहरूमा क्षति पुगेको उनले बताए । अहिलेसम्म दुईवटा शव निकालिएको छ। त्यसमा एक जना बालक रहेका छन् । त्यस्तै एक जना बालकले भने भागेर ज्यान जोगाएको र उनी पनि घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्। अविरल वर्षातले वडा नम्बर २ र ३ को सीमा क्षेत्रमा पर्ने पक्की पुल पनि बगाएको स्थानीयले बताएका छन्।