अवैध बाटो हुँदै अमेरिका हिँडेका ६५ नेपाली ब्राजिलमा पक्राउ

अमेरिका जान भन्दै दुबई हुदैं ब्राजिल पुगेका ६५ जना नेपाली ब्राजिलको एयरपोर्टमा पक्राउ परेका छन् । बिना भिसा दुबईबाट कोलम्बिया हुदैं ब्राजिल पुगेका उनीहरूलाई साओ पाउलो विमानस्थलमा पक्राउ गरेको ब्राजिलस्थित नेपाली दूतावासले जनाएको छ । ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेका अनुसार विभिन्न मुलुकका ३ सय बढी पक्राउ पर्ने क्रममा ६५ जना नेपाली विमानस्थलमा समातिएका हुन । उनीहरू सबै नेपालबाट ८० लाख बढी बुझाएर तेस्रो मुलुक हुँदै अमेरिका जान लागेका हुन । पक्राउ परेकाहरूले आफूहरूलाई पर्वतका जनकप्रसाद श्रेष्ठले प्रतिव्यक्ति ८० लाख लिनेगरि पठाएको जानकारी दिएका छन् । ट्रान्जिट बनाएर विना भिसा त्यहाँ पुगेका नेपालीहरूलाई ब्राजिलमा प्रवेश गर्न नदिइएपछि साओ पाउलो विमानस्थलमा प्रहरीको नियन्त्रणमा छन् ।

एक साताअघि पनि उनै श्रेष्ठले पठाएका ५० जना नेपालीहरू यसरी विना भिसा ब्राजिल प्रवेश गर्न खोज्दा रोकिएका थिए । नेपालीहरूले टर्की, दुबई र दोहाबाट ब्राजिललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकको टिकट काट्ने तर ब्राजिल आइसकेपछि त्यही शरण माग्ने तथा बाहिर निस्केर दलालमार्फत विना भिसा अमेरिका वा क्यानडातिर लाग्ने गरेका छन् । पहिलेदेखि नै यो क्रम रहेको र अहिले सङ्ख्या अझ बढेको नेपाली दूतावासले जानकारी दिएको छ । राजदूत काफ्लेले ब्राजिलको भिसा नलिई ब्राजिललाई ट्रान्जिट बनाएर बाहिर निस्कने उद्देश्यले नआउन नेपालीहरूलाई सचेत गराएका छन् ।

ब्राजिलमा रोकिएका नेपालीहरू फरक फरक समयमा फरक फरक एयरलाइन्समार्फत आएको जनाइएको छ । उनीहरूमध्ये अधिकांश टर्की, दुबईबाट, दोहाबाट टर्किस, इमिरेट्स र कतार एयरलाइन्समार्फत ब्राजिल पुगेका हुन । अहिले ६ सय जनाभन्दा बढी विना भिसा पुगेका आप्रवासीहरू ग्वारुल्होस एयरपोर्टमा ब्राजिल प्रवेश गर्न पर्खिरहेको जनाइएको छ । ब्राजिलको सरकारले सोमबारदेखि अमेरिका र क्यानडा पुग्नको लागि ब्राजिल प्रयोग गर्ने आप्रवासीहरूको प्रवाहलाई रोक्न नियमहरू कडा बनाएको छ । यसबाहेक अमेरिका पुग्नका लागि पार गर्नुपर्ने ग्वाटेमाला र हुण्डुरसको सिमानामा समेत कडाइ गरिएकाले धेरै आप्रवासीहरू अप्ठ्यारोमा परेका छन् ।

सोमबारदेखि ब्राजिलले भिसा नभएका अर्को देश जाने विदेशी यात्रीहरू सीधा आफ्नो गन्तव्यमा जानुपर्ने वा आफ्नो देश फर्कनु पर्ने नियम बनाइएको छ । एसियाबाट उत्तर अमेरिका जाने यात्रुहरू ब्राजिलमा ट्रान्जिट पारेर बाहिर निस्कने र अमेरिका तथा क्यानडातिर लाग्ने समस्याका कारण यो नियम ल्याइएको हो । ट्रान्जिटमा पुगेपछि ब्राजिलमा प्रवेश गर्न उनीहरुले शरण माग्ने गर्छन् । उनीहरूले आफ्नो देशमा बस्ने नसक्ने अवस्था भएको बताउँदै शरण माग्नेहरू त्यहाँबाट अमेरिकातिर प्रवेश गर्छन् । अब भिसा बिना साओ पाउलो आउने यात्रुहरूलाई ब्राजिलमा बस्न अनुमति नदिइने सरकारी अधिकारीहरूले बताएका छन् । त्यहाँ पुगेका नेपालीहरू दलाललाई मोटो रकम बुझाएर उक्त बाटो हुँदै विना भिसा अमेरिका आउन खोज्नेहरू हुन् ।

बोलिभियामा नेपालीलाई अन अराइएभल भिसा दिने भएकाले एजेन्टहरूले नेपालीलाई ब्राजिलबाट बोलिभिया छिराउने गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव तस्करको प्रलोभनमा परी अमेरिका जान हिँडेका एक हजारभन्दा बढी नेपाली ल्याटिन अमेरिकाका विभिन्न देशमा अलपत्र परेको जनाइएको छ । मोटो रकम लिई अमेरिका छिराइदिने भन्दै उनीहरूलाई तस्करले ब्राजिल, चिली, बोलिभिया, इक्वेडर, कोस्टारिका लगायत ल्याटिन अमेरिकी मुलुकमा अलपत्र पारेका हुन्।

नेपालबाट पठाउने तस्करले प्रतिव्यक्ति ८० लाखसम्म लिने गरेको भएपनि दुबईबाट अमेरिका छिराएबापत भारत र बंगालदेशका तस्करहरूले प्रतिव्यक्ति २२ लाख लिने गरेका छन् । २२ लाखमा जोखिमपूर्ण यात्रामार्फत दुबईदेखि अमेरिका पुर्‍याउने जिम्मा बङ्गाली र भारतीय तस्करहरूले गर्ने भएपनि नेपालबाट पासपोर्ट जम्मा पारेर दुबईमा रहेका तस्करलाई भेट गराएबापत नेपालका प्रसाद भनिने जनकप्रसाद श्रेष्ठले प्रतिव्यक्ति ५० देखि ६० लाख आफ्ना लागि राख्ने गरेका छन् । गएको ११ वर्षदेखि मानव तस्करीको धन्दामा लागेका श्रेष्ठले काठमाण्डौको सामाखुसीमा रहेको एउटा खाजाघरलाई तस्करीको अखडाका रूपमा प्रयोग गर्दे आइरहेका छन् । उनका विरुद्ध प्रहरीमा दर्जन बढी उजुरी भएपनि नेपाल प्रहरीमा सेटिङमार्फत मिलाउँदै आएका छन् ।