कांग्रेसमा जुटेन सहमति, केन्द्रीय समिति बैठक भदौ १६ गतेलाई सारियो

भोलि बुधबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक १६ गतेलाई सरेको छ । कांगेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै १६ गते २ बजे बस्ने जानकारी दिएका हुन् ।

प्रतिवेदनमा रहेको चुनावी गठबन्धन, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकाबारे विवाद छ ।

यसबारे सहमति जुटाउन सभापति शेरबहादुर देउवाले मंगलबार उपसभापतिद्वय र महामन्त्रीहरुलाई बोलाएका थिए । तर सहमति नजुटेपछि केन्द्रीय कार्यसमिति बैठक नै सारिएको एक नेताले जानकारी दिए ।

२३ साउनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा अब महामन्त्री, उपसभापति र सभापतिले बोल्न बाँकी छ । त्यसपछि महासमिति बैठकमा पेश भएका प्रतिवेदनहरु पास गर्नुपर्नेछ ।

महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति खोज्न सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर छलफल गरेका थिए ।

महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र शर्माको ‘एक्जिट पोलिसी’ प्रस्तावमाथि संस्थापन पक्षको चर्को विरोध छ । यो विषयलाई मध्यमार्गी बनाएर जानेबारे देउवाले पार्टीका शीर्ष नेताहरूसँग निरन्तर छलफल गरेका छन् ।