अन्नपूर्णमा सम्पर्कविहीन एक स्पेनीको शव भेटियो

Image

कास्कीको वीरेठाँटी हुँदै म्याग्दी घोरेपानी जाँदै गर्दा आइतबारदेखि बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव फेला गरेको छ भने एक जना महिला अझै बेपत्ता छिन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९, तीखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा सम्पर्कविहीन स्पेनी पर्यटक ३७ वर्षीय इरिक कासानोभासको शव फेला परेको हो । भुरौदीखोलाको सुदामे भन्ने ठाउँमा मङ्गलबार दिउँसो साढे २ बजेतिर शव फेला परेको हो ।

इरिकको टाउकोमा चोक देखिएको र झोला भेटिएभन्दा करिब एक किमी तल शव फेला परेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटी चेकपोस्ट इन्चार्ज यामबहादुर गुरुङले जानकारी दिए । अन्नपूर्ण वडा नम्बर ९ को भरुङ्दी खोलाको पुलनजिक बेवारिसे अवस्थामा आइतबार साँझ दुई झोला भेटिएका थिए ।

कासानोभाससँगै सम्पर्कविहीन भएकी ३२ वर्षीया मोलास जुन्का मेसीको भने खोजी जारी छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटीमा उनीहरूले घोरेपानी जाने विवरण टिपाउएका थिए । बाटोमा झोला झोला भेटिएको नजिकै सुन्दर छहरा भएकाले त्यही फोटो खिच्ने क्रममा उनीहरू चिप्लिएको हुन सक्ने अनुमान गरिएको छ ।

बाटो छेउमा भेटिएका दुई झोलामा व्यक्तिगत सामग्रीसहित उनीहरूका राहदानी, केही नगद फेला परेको थियो । प्रहरी चौकी वीरेठाँटीका इन्चार्ज कृष्ण दर्नालले खोजी कार्य जारी रहेको जानकारी दिए ।

घोरेपानी हिँडेका दुई स्पेनिस पर्यटक बेपत्ता