मुस्ताङको थासाङमा पुनः गयो हिउँपहिरो, बोक्सीखोला थुनियो

Image

धौलागिरि हिमशृंखलाको मानापाथी हिमालबाट मंगलबार साँझ पुनः हिउँपहिरो खसेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडा अध्यक्षसमेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रूपमा थुनिएको बताए ।

‘यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ,’ उनले भने, ‘हिउँपहिरोले बोक्सीखोला पूर्ण रूपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।’

बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । मंगलबार साँझ ५ः४५ तिर हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ ।

यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले १५० भन्दाबढी चौँरीगाई मरेका थिए ।