सुनकोसीमा बेपत्ता भक्तपुरका ३ युवा अझै भेटिएनन्

गत शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएका भक्तपुरका तीनजना युवा अझै भेटिएका छैनन् । घटना लगत्तैदेखि निरन्तर खोजी गरिरहे पनि उनीहरुलाई भेट्न नसकिएको प्रहरीले जनाएको छ ।

खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी नदीमा खसेको हो।

उक्त गाडीलाई आइतबार बिहान २ बजे सुनकोसीबाट निकालिएको थियो। घटनास्थलबाट ५० मिटर तलबाट गाडी निकालिएको हो ।

गाडीमा चारजना सवार थिए। गाडीमा सवार भक्तपुरको जगातीका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् ।

सोही गाडीमा सवार भक्तपुरकै २७ वर्षीय सुशान्त कक्षपतिले भने दुर्घटना हुँदा सडकमा फाल हानेर ज्यान जोगाएका छन् । उनीहरूको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली खटिएको छ ।