संसदमा एमाले र माओवादीबीच चर्काचर्की

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रतिनिधिसभामा बोल्दा माओवादीको सशस्त्र संघर्षलाई ‘राजनीतिक हिंसा’ भनेपछि सदनमा चर्काचर्की भएको छ । सांसद भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेको भन्दै माओवादी सांसदहरुले नियमापत्ति जनाएका थिए ।

माओवादी सांसदहरुले तत्कालै रेकर्डबाट हटाउन माग गर्दै नाराबाजी गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले ‘छानबिन गरेर निर्णय गर्न सचिवालयलाई निर्देशन’ दिए । त्यसपछि एमाले पनि सभामुखप्रति आक्रोशित बनेको थियो ।

“राजनीतिक प्रतिवद्धतामा कसैको छानबिन हुँदैन । हाम्रो राजनीतिक प्रतिवद्धता हो । को हो छानबिन गर्ने ? मान्छे मार्नु, गोली ठोक्नु, चन्दा उठाउनु, लुटपाट गर्नु सबै हिंसा हो,” आफ्ना धारणा टुंग्याउँदै भट्टराईले भने ।
सभामुखले पटक पटक दोहोरी नचलाउन अनुरोध गरे पनि दुवैपक्षबीच अहिले पनि चर्काचर्की भइरहेको छ ।