मानव तस्करले अमेरिका भन्दै ब्राजिल पुर्‍याएपछि अलपत्र पर्ने नेपालीको सङ्ख्या १७६ पुग्यो 

नेपालबाट दलालले अवैध तरिकाले अमेरिका पठाउने भन्दै ब्राजिल पुर्‍याएपछि अलपत्र नेपालीको सङ्ख्या थपिएको छ ।

तीन दिनअघि ६५ नेपाली ब्राजिलको विमानस्थलमा अलपत्र परेको त्यहाँको दूतावासले जानकारी गराएकोमा बिहीबार अलपत्र हुने नेपालीको सङ्ख्या १ सय ७६ पुगेको हो । ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले दलालले ब्राजिल हुँदै अमेरिका प्रवेश गराउन खोजेका १ सय ७६ नेपाली साउपाउलो विमानस्थलमा अलपत्र परेको पुष्टि गरेका छन् । मानव तस्करको प्रलोभनमा परेर उनीहरू ब्राजिल पुगेको र त्यहाँको अध्यागमनले रोकेपछि उनीहरूको उद्धारको पहल सुरु भएको त्यहाँको दूतावासलाई उद्धृत गर्दे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले ब्राजिलस्थित नेपाली दूतावासको पहलमा नेपाली नागरिकलाई उद्धारको पहल भइरहेको जानकारी दिए । त्यहाँ अलपत्र परेका सबै नेपाली नागरिक सुरक्षित रहेको दूतावासले जानकारी दिएको उनले बताएका छन् ।

विगतमा यसरी ब्राजिल पुगेका विदेशी नागरिकले राजनीतिक शरणार्थीका लागि निवेदन दिएपछि त्यहाँ बस्ने अनुमति पाउने गरेका थिए तर यो व्यवस्था केही दिनअघि मात्र ब्राजिल सरकारले खारेज गरिदिएपछि त्यहाँ पुगेका नेपाली विमानस्थलमै अलपत्र परेका हुन् । यस विषयमा के कसरी समाधान गर्ने भनेर ब्राजिलका सरोकारवाला निकायसँग परामर्श भइरहेको प्रवक्ता राईले जानकारी दिए ।

अलपत्र परेकालाई स्वदेश फिर्ता पठाउनका व्यवस्थाका लागि त्यहाँको सरकारसँग कुराकानी भइरहेको पनि राईको भनाई छ  । अलपत्र परेका नेपालीहरुमध्ये अधिकांश पर्वतका जनक प्रसाद श्रेष्ठले अवैध रूपमा अमेरिका पठाउने भन्दै त्यहाँ पुर्‍याएका हुन । अमेरिकाको प्रलोभन देखाएर अवैध रूपमा लगेर अलपत्र पार्ने तस्करहरूलाई जिम्मेवार बनाएर उनीहरूमार्फत नेपाली नागरिक फिर्ता ल्याउने र श्रेष्ठ लगायतका मानवतस्करहरुमाथि अनुसन्धान गर्न मन्त्रालयले नेपाल प्रहरीको सिआईवीलाई समेत जानकारी गराएको छ ।

नेपाली नागरिकसहित करिब सात सय जना अलपत्र परेको खबरप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै दूतावासले आफ्ना नागरिकलाई आवश्यक मानवीय सहायताका लागि पहल गरेको स्पष्ट पारेको छ । दक्षिण अमेरिकाको ब्राजिललगायतका मुलुक हुँदै अवैध तरिकाले संयुक्त राज्य अमेरिका प्रवेश गराउने उद्देश्यले विभिन्न स्थानबाट त्यहाँ मानिस जाने प्रवृत्ति बढेकाले यस्तो समस्या आएको पनि दूतावासले जनाएको छ । सङ्गठित रूपमा सक्रिय मानव तस्करको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवा यस क्षेत्रमा आउने गरेको र ठुलो धनराशिको खर्चसहित अकल्पनीय पीडा बेहोर्नुपरेको दृष्टान्त दूतावासले दर्साएको छ ।

भर्खर मात्र ब्राजिल सरकारले तत्काल लागु हुने गरी नेपाललगायत केही देशका राहदानीवाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ । जस अनुसार अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने छ । त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ ।