दाङ बस दुर्घटना: पट्टा भाँचिएर बस अनियन्त्रित भएको चालकको बयान

बाँकेको गनापुरमा भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

दाङको तुलसीपुरदेखि नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको बस केहीबेर अघि दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय सन्तोष भुषालको मृत्यु भएको हो । मृतक ओली बसका यात्रु र भुषाल बसका सह-चालक रहेको बुझिएको छ ।

दुबै जनाको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएपी नारायण डाँगीले जानकारी दिए । दुर्घटनामा परी २७ जना घाइते भएका छन् । प्रवक्ता डाँगीका अनुसार भेरी अस्पतालमा २१ जनाको उपचार भइरहेको छ ।

यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पाँच जनाको उपचार भइरहेको छ । घाइते एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भएकोमा डिस्चार्ज भईसकेको डिएसपी डाँगीले बताए ।

दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको चालकले प्रारम्भिक रूपमा बयान दिएका छन् ।

अनियन्त्रित भएर बस पल्टिँदा दुई जनाको मृत्यु, २७ घाइते