सत्तारुढ दल नेकपा (एमाले) को पोलिटब्यूरो बैठक भदौ १८ र १९ गते बस्ने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले सदस्यता बिस्तार अभिलेखीकरण र नवीकरणको कामलाई प्रभावकारी बनाउनेबारे छलफल गरेको बताए । ११ जिल्लामा बाँकी अधिवेशनको आयोजना गर्ने र तिनीहरूलाई अझ व्यवस्थित गर्नेबारेमा पनि छलफल भएको छ ।
पार्टी प्रवेश र जिम्मेवारी विहीन अवस्थामा रहेकालाई तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने निर्णय भएको छ । हरेक कमिटीले आफ्नो कार्यकर्ताको मूल्याङ्कनको व्यवस्थित ढाँचा निर्माण गर्ने कामको सुरुवात गर्ने, कमिटीहरू विधिसम्मत ढङ्गले सञ्चलन गर्ने, केन्द्रमा एउटा स्थायी पार्टी स्कुल र प्रदेशमा सात वटा स्थायी पार्टी स्कुल सञ्चालन गरी वर्षको एक पटक हरेक पार्टी सदस्यले अनिवार्य दीक्षित हुने ढङ्गले पार्टी स्कुलको ढाँचा तय गरिएको उपमहासचिव ज्ञवालीले बताए ।
बैठकले जनप्रतिनिधिलाई प्रभावकारी ढङ्गले परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै कम्युनिस्ट पार्टीहरूको एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेबारे पनि छलफल भएको छ ।
उनले पार्टीले पार्टीका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष दिवङ्गत सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस भदौ २६ गते आयोजना गर्ने निर्णय गरेको पनि बताए ।