१४ भदौ, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो टिम बनेपछि पार्टीको नेतृत्व छोड्ने बताएका छन् । पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सुर्खेत आएका प्रचण्डले भने, ‘म अब ७० कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन, एउटा राम्रो टिम बनेपछि म अर्को भूमिकामा जाने सोचमा छु ।’
सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उल्लेख गर्दै उनले अहिले नै नेतृत्व हस्तान्तरण उपयुक्त नहुने बताए । अध्यक्षभन्दा माथि प्रचण्ड भइसकेको भन्दै उनले पार्टीको अध्यक्षमै रहिरहने सोचमा नरहेको बताए । ‘अध्यक्ष भन्ने पद मेरालागि त्यति ठूलो छैन,’ उनले भने, ‘संसारले नै प्रचण्डलाई ठूलो परिवर्तनको संवाहकका रूपमा स्वीकारेको अवस्थामा मलाई अध्यक्ष हुनैपर्छ भन्ने नै छैन ।’
पत्रकार सम्मेलनमा उपमहासचिव जनार्दन शर्मा पनि छेउमै थिए । जसले हालै पार्टीमा नेतृत्व हस्तान्तरणको कुरा उठाएका थिए ।
उपमहासचिव शर्माले पेस गरेको प्रतिवेदनका विषयमा माओवादी फुट्न लागेको चर्चामा सत्यता नरहेको उल्लेख गर्दै सबैको धारणालाई साझा बनाएर लैजाने गरी अगाडि बढेको प्रचण्डले दाबी गरे।
एक फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले एमाले सांसद्हरुले सदनमै जनयुद्धलाई ‘हिंसा’ शब्द प्रयोग गर्नु जायज नभएको बताए । संविधानले विस्तृत शान्ति सम्झौतालाई नै संविधानकै अङ्ग बनाएकाले एमाले सांसदहरूले त्यसरी बोल्न नहुने उनले बताए ।