काठमाडौंको कलंकीमा अनियन्त्रित भएर सडकमा लडेको स्कुटरलाई बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
शनिबार बिहान सवा १० बजे कलंकीस्थित मकालु पेट्रोल पम्प नजिक बा ९५ प ७६३५ नम्बरको स्कुटर अनियन्त्रित भएर सडकमा लडेपछि पछाडिबाट आएको बसले चेप्दा स्कुटर चालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मृत्यु हुनेमा स्कुटर चालक पाल्पा घर भई काठमाडौं बस्दै आएका विष्णु बहादुर मगर छन् ।
एसपी अधिकारीका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि नेशनल अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो ।
प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकलको ठक्कर दिएपछि स्कुटर अनियन्त्रित भएर सडकमा लडेको र पछाडिबाट बसले किचेको जस्तो देखिने एसपी अधिकारीले जानकरी दिए ।
मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएपनि त्यसका चालक भने फरार रहेको उनले बताए ।
प्रमाणीत भइनसकेका कारण प्रहरीले ठक्कर दिएको भनिएको मोटरसाइकल र बसको नम्बर सार्वजनिक गरेको छैन ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पनि एसपी अधिकारीले जानकारी दिए ।