परेसि पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् ।
२१ वर्षीया पलेशाले ओलम्पिकमा कांस्य पदक जिते वापत राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा उल्लेख भएअनुसारको नगद पुरस्कार पाउने पक्का भएको हो ।
राष्ट्रिय खेलकुद विकास नियमावलीमा ओलम्पिक, एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद (साग), विश्व च्याम्पियनसिप लगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीले पाउने पुरस्कार बारे उल्लेख गरिएको छ ।
सोही नियमावलीमा भएको ब्यवस्था अनुसार चीनको होङझावमा गतवर्ष चौथो एसियाली पारा खेलकुदमा पनि कांस्य जितेकी पलेशाले १३ लाख रुपैयाँ पुरस्कार पाएकी थिइन् ।
यस्तै नियमावली अनुसार पलेशाको प्रशिक्षकले पाँच लाख ८५ हजार, व्यवस्थापकले दुई लाख ९२ हजार र सम्बन्धित खेल सङ्घले ११ लाख ७० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।
फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिकमा पलेशाले शनिबार के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले हराउँदै कांस्य जितेकी हुन् । यो ओलम्पिकमा कुनै पनि खेलाडीले जितेको पहिलो ऐतिहासिक पदक हो ।
पलेशाले पहिलो चरणको खेलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा उनी ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित भइन् ।
दोस्रो चरणमा पराजित भएपछि रिपाचेजको मौका पाएकी उनले फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले हराउँदै कांस्यको भिडन्त पक्का गरेकी हुन् । त्यसपछि उनले अन्तिममा सर्वियाकी मारिजालाई स्तब्ध बनाउँदै कांस्य पदक आफ्नो पोल्टामा पारेकी थिइन् ।