कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित हुँदै

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी रहेको छ ।

साउन २३ देखि जारी बैठक महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति नजुट्दा ७ भदौदेखि स्थगित हुँदै आएको थियो । तर, १५औं महाधिवेशनको कार्यतालिका अर्को बैठकले निर्णय लिने र संविधान संशोधन मस्यौदा समिति बनाउने शीर्ष नेतामा मोटामोटी सहमति बने पछि आज बैठक बस्न लागेको हो ।

महामन्त्री थापाले प्रस्ताव गरेको चुनावी गठबन्धन नगर्ने प्रस्तावमा उनको भाव कायम रहने गरी पारित गर्ने शीर्ष तहमा सहमति भएको छ भने अर्का महामन्त्री शर्माले पेस गरेको एक्जिट पोलिसी संविधानसँग पनि जोडिने विषय भएकाले संविधान संशोधनको बेलामा बहसमा ल्याउने गरी निर्णय गर्ने तयारी छ ।

शीर्ष तहमा टुंगिन बाँकी रहेका विषयमा सहमति खोज्न केन्द्रीय समिति बैठकअघि आज दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्नेछ ।