राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले आफूमाथिको कारबाहीविरुद्ध पुनरावेदन निवेदन दिएका छन् । रास्वपाको पुनरावेदन समितिसमक्ष आइतबार उनले निवेदन दिएका हुन् ।
पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट आफूलाई पदमुक्त गर्ने गएको असार २५ गतेको निर्णय त्रुटिपूर्ण रहेको उनले जिकिर गरेका छन् । उक्त निर्णय पार्टीको अभिलेखबाट हटाई आफूलाई साविककै पदीय हैसियतमा काम गर्ने वातावरण मिलाइदिन उनले निवेदनमा माग गरेका छन् ।
‘वास्तवमा म पुनरावेदकले पार्टीको सभापतिबाट भए गरेको गैरकानूनी कार्य र उहाँविरुद्ध राज्यको विभिन्न निकायबाट भइरहेको अनुसन्धान, अदालतमा विचाराधीन दोहोरो पासपोर्ट जस्ता गम्भिर प्रकृतिका तथा आम नागरिक समेतबाट उठेको सहकारी रकम ठगी र दुरूपयोग जस्ता कार्यको विरोध गरेको कारण सभापतिबाट व्यक्तिगत रूपमा मलाई लक्षित गरी पार्टीबाट विभिन्न कारबाहीहरू भइरहेको अवस्था छ भने मलाई पदमुक्त गर्नु समेत यसै विरोधको निरंकुश उपज हो,’ उनले पत्रमा भनेका छन् ।
गत असार १४ गते सोधिएको स्पष्टीकरणमा समेत आफूमाथि के-कस्तो विषयको अनुसन्धान भइरहेको हो तथा त्यसवापत के-कस्तो सजाय हुन सक्ने हो लगायतको विषय उल्लेख नगरिएको उनको तर्क छ ।
‘सोही त्रुटिपूर्ण स्पष्टीकरणको आधारमा मलाई साउन १९ गते ७ दिन निलम्बन गरिएको थियो,’ ढकालले भनेका छन् । उनले आफूमाथि विवेचित तथ्य, कानूनी व्यवस्था एवं सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्त प्रतिकूल हुने गरी व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिइएको बताएका छन् ।