ललितपुरको भैंसेपाटीमा विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी

ललितपुरको भैंसेपाटीमा एक युवक होस्टलभित्र मृत फेला परेका छन् ।

ललितपुर महानगरपालिका २५ भैंसेपाटीमा रहेको डिएमआई बाइबल स्कुलको होस्टलमा बसेर अध्ययनरत मोरङका २९ वर्षीय सकुल मर्डी मृत फेला परेको ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

उनी शनिबार बेलुकी ८ बजेतिर होस्टलभित्र आफ्नै बेडमा मृत फेला परेको एसपी सुवेदीले बताए । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मृतक छारे रोगको बिरामीसमेत रहेको खुलेको छ । यद्यपी मृत्युको कारणबारे पोष्टमर्टमपछि मात्रै खुल्ने एसपी सुवेदीले जानकारी दिए ।