बाँके पुगरे प्रचण्डले भने- अहिलेको नयाँ शक्ति भनेकै माओवादी हो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी भएको बताएका छन् ।

आइतबार बिहान प्रेस सेन्टर नेपाल बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्स पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको बताए ।

‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ,’ उनले भने, ‘हामीले एजेण्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं । संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत् जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ ।’

उनले आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउन केन्द्रीय एजेण्डा हुने उल्लेख गरे ।

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोच गरेको बताए ।