निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा : गृह मन्त्रालय

'निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह'

काठमाडौँ – सरकारले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ । गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको हो ।

बुधबार गृहसचिव विनोदप्रकाश सिंहले भयरहीत वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चितता गरिएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरे । उनले देशका सबै ठाउँका मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था चुस्त रहेको र निर्धक्क भइ मतदान गर्नसक्ने वातावरण तयार गर्न सुरक्षा निकायहरू सक्षम रहेको बताए ।

गृहसचिव सिंहले उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षाको उचित प्रवन्ध मिलाउने कार्यका लागि सुरक्षाकर्मीहरू निर्वाचन केन्द्रमा पुगिसकेको बताए । उनले मतदान स्थलहरूलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरेर आवश्यकता अनुसारको सुरक्षाको व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार