कास्की प्रहरीले पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ ।
कास्की प्रहरीले सहकारीको रकम गोरखा मिडिया (ग्यालेक्सी टेलिभिजन)मा लगानी भएको र लामिछानेको पनि हिस्सेदारी रहेकोबारे सोधपुछ गरेको हो ।
लामिछानेसँग कास्की प्रहरी काठमाडौं नै आएर बयान लिएको बताइएको छ । भदौ १३ मा सहकारी बचत दुरुपयोग संसदीय छानबिन समितिले लामिछानेको सहकारी ठगी प्रकरणबारेमा बयान लिइसकेको छ ।
यद्यपि लामिछानेले छानबिन समिति र कास्की प्रहरीलाई आफू निर्दोष रहेको र सहकारी घोटालामा संलग्न नभएको भन्दै बचाउ गरिरहेका छन् ।
कास्की प्रहरीसँगको बयानमा पनि लामिछानेले गोरखा मिडियामा जोडिँदा सहकारीबाट लिएको रकमबारे थाहा नभएको र संस्थाबाट राजीनामा दिइसकेकाले जिम्मेवारी नलिने जवाफ दिएका छन् ।
अनुसन्धानका लागि गोर्खा मिडिया कम्पनीमा छापा हान्न गएको प्रहरीले लामिछानेसँग प्रारम्भिक बयान लिएको हो । लामिछानेसँग कास्की प्रहरीले भदौमा १० मा बयान लिएको बताएको छ । कास्कीबाट डीएसपी वसन्तकुमार शर्माको नेतृत्वमा टोली लामिछानेसँग बयान लिन काठमाडौं आएको थियो ।
डीएसपी शर्मा नेतृत्वको टोलीले भदौ ८ र ९ मा गोरखा मिडियासँगै नेचर हब्र्स र नेचर नेष्ट इन्टरनेसनल कम्पनीको कार्यालयमा छापा मारेको थियो । यी दुवै कम्पनी गोर्खा मिडिया नेटवर्क र सूर्यदर्शन सहकारी अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईकै समूहले कम्पनी सञ्चालन गरेको छ । राईको समूहमा लामिछाने जोडिएका सहकारी रकम अपचलनमा संलग्न भएको आरोप लाग्दै आएको छ ।














