नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीप्रति देशैभर आकर्षण बढ्न थालेको बताएका छन् ।
महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै उनले पार्टीले लिएको एजेण्डा र त्यसकै आधारमा पार्टी नेतृत्वको सरकारले गरेका कामका कारण पार्टीप्रति आकर्षण देखिएको बताएका हुन् ।
‘पहिचानका पक्षमा लड्ने पार्टीको रुपमा माओवादी केन्द्र स्थापित भएकै छ, थप सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हाम्रो पार्टीले अघि सारेको सुस्पष्ट एजेण्डाका कारण अहिले देशैभरी फेरि एकपटक माओवादी केन्द्रप्रति आकर्षणको लहर पैदा भएको छ,’ उनले दाबी गरे, ‘त्यसैको सानो प्रमाणको रुपमा यो पार्टी प्रवेश कार्यक्रमलाई मैले लिएको छु ।’
राजनीतिक हिसाबले अहिले मुलुक माओवादीकै एजेण्डामा चलिरहेको र आफ्नो पार्टी सरकारमा जाँदा हरेकपटक नयाँ(नयाँ काम गरेकाले अन्य पार्टीभन्दा माओवादी केन्द्र नै अब्बल रहेको उनले बताए ।
‘जनयुद्ध र जनआन्दोलनको जगमा भएको राजनीतिक परिवर्तन, संविधासभाको निर्वाचन, गणतन्त्र घोषणा, संविधान निर्माण, संविधानमार्फत संघीयता, समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था लगायत सबै आजका एजेण्डा माओवादीले नै अघि सारेका एजेण्डा हुन्,’ अध्यक्ष प्रचण्डले भने, ‘हामी जतिपटक सरकारमा गएका छौं, नयाँ-नयाँ काम गरेका छौं ।’
जनतासँग जोडिएको पूर्वाधार निर्माणका हिसाबले पनि मध्यपहाडी लोकमार्गको थालनीदेखि लोडसेडिङमुक्त नेपाल, गाउँगाउँमा सूचना सञ्चारको विकास हुँदै पछिल्लो समय सुशासन र सामाजिक न्यायका पक्षमा आफू नेतृत्वको सरकारले चालेका कदम ऐतिहासिक रहेको उनले बताए ।
भ्रष्टाचारका फाइल खोलेर कारवाही प्रक्रिया थाल्नेदेखि मधेसलगायत देशैभरिको ठूलो समस्याको रुपमा रहेको मिटरब्याजको समस्या समाधान र लाखौँ नागरिकताविहीन युवालाई नागरिकताका लागि कानुनी व्यवस्थालगायतका काम ऐतिहासिक उपलब्धि भएको उनको भनाई थियो ।
यी एजेण्डा र उपलब्धिसहित अब पार्टीलाई बलियो बनाउँदै देशब्यापी ध्रुवीकरणको दिशामा अघि बढ्ने प्रचण्डले बताए। त्यसक्रममा उनले पार्टी प्रवेश गरेका नेता कार्यकर्ताहरुका लागि ठीक ढंगले समयमै सांगठनिक व्यवस्थापन गर्न प्रदेश इञ्चार्जलगायत स्थानीय नेताहरुलाई निर्देशन दिए ।
कार्यक्रममा जसपाबाट श्यामबाबु यादव, कांग्रेसका विनयकुमार यादव, मोहित मण्डल, सञ्जीव यादव, जयराम यादव, बालबोध महतो, वीरेन्द्र मण्डल, विजय मण्डल, मनोज मण्डल, नवलकिशोर यादव, रामधविला यादव, लालबाबु यादव, नरेश चौधरी, कारी यादव, जयनारायण यादव, एमालेका श्यामसुन्दर चौधरी, मिथले साह, दिपेन्द्रकुमार चौधरी, बसन्त चौधरी, रामदेव महरा, दीपक सादा, परमजीत सादा, राजेश यादव, घुरण मुखिया, विजय पटेल, विजय शर्मा, उमेश मण्डललगायत माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।













