वाइफाइको पैसा तिर्ने कुरामा विवाद हुँदा श्रीमानले गरे श्रीमतीको हत्या, दुई छोरी घाइते

Image

घरायसी विवादको क्रममा खुर्पा प्रहार गरी बारामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

मंगलबार राति पौने आठ बजेको समयमा निजगढ नगरपालिका- ९ बस्नेत विमलकुमार बस्नेतले आफ्नी श्रीमती लक्ष्मी राईको हत्या गरेका हुन् ।

राति रक्सी खाएर घर आएको क्रममा श्रीमान श्रीमतीबीच वाइफाइको पैसा तिर्ने कुरालाई लिएर विवाद भएको थियो । बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार वाइफाइको रिचार्ज गर्न पैसा नभएको रक्सी खान कहाँबाट पैसा आयो भनी लक्ष्मीले प्रश्न गरेपछि विमलले खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।

सो विवाद छुट्टाउन गएका दुई जना छोरीहरूमाथि पनि विमलले खुर्पा प्रहार गरेका थिए । सो क्रममा १८ वर्षीया गंगा र १५ वर्षीया छोरी जमुना घाइते भएका छन् । घाइतेमध्ये जमुनालाई वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचार पछि थप उपचारको लागि काठमाडौं पठाइएको तथा उनको अवस्था गम्भीर रहेको सापकोटाले बताए ।

खुर्पा प्रहार गर्ने विमललाई पक्राउ गरी घटनाको बारेमा थप अनुसन्धान अघि बढाइएको उनले बताए ।