अब कोशी प्रदेशमा ट्रायल पास गरेलगत्तै सवारी लाइसेन्स पाइने भएको छ । कोशी प्रदेशबाट पहिलो पटक बुधबारबाट अस्थायी लाइसेन्स वितरण सुरु गरिएको छ ।
स्मार्ट लाइसेन्सको लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै कोशी प्रदेश सरकारले पहिलो पटक अस्थायी लाइसेन्स वितरण सुरु गरेको हो । इटहरीमा मुख्यमन्त्री हिक्मतकुमार कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले औपचारिक रूपमा अस्थायी लाइसेन्स वितरण शुभारम्भ गरेका छन् ।
मुख्यमन्त्री कार्कीले नागरिकको हित र सुविधालाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउँदै ट्रायल पास भएलगत्तै लाइसेन्स दिने व्यवस्था मिलाइएको जनाए ।
‘आवश्यकताका आधारमा वर्गीकरण गरेर केही शुल्क बढाएर दिने व्यवस्था गरेका छौँ,’ उनले भने ।
आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले यातायात व्यवस्था विभागले अस्थायी लाइसेन्स वितरणका लागि गरेको प्राविधिक सहयोगको प्रशंसा गर्दै चाँडै स्मार्ट लाइसेन्स छाप्ने तयारी भइरहेको सुनाए ।
गत साउन ३२ गते सातवटै प्रदेशका यातायात व्यवस्था मन्त्रालयका मन्त्रीहरूको संयुक्त बैठकले सवारी चालक अनुमतिपत्रको स्थायी कार्ड प्रदेशबाटै छाप्ने र स्थायी कार्ड छाप्ने व्यवस्थापन गर्न लाग्ने समयसम्म क्युआर कोड सहितको अस्थायी सवारी चालक अनुमति पत्र वितरण गर्ने निर्णय भएको थियो । कोसीले पहिलोपटक वितरण गरेको हो ।
कोसी प्रदेशमा सवारी चालक अनुमतिपत्र जारी गर्ने सातवटा यातायात व्यवस्था सेवा कार्यालयहरू छन् ।