कपिलवस्तुमा जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट १७ वर्षीय किशोरको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारीअनुसार जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट विजयनगर गाउँपालिका–२ लोहरौलाका रामसहाय चौधरीका १७ वर्षीय छोरा गुरुप्रसाद थारूको मृत्यु भएको हो ।
थारूको उपचारको क्रममा काठमाडौँस्थित न्युरो अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायणप्रसाद चौधरीले जानकारी दिए ।
दुई साताअघि उच्च ज्वरो आएपछि उनलाई सुरुमा उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । तीन दिन न्युरोमा उपचार गरेपछि किशोरको मृत्यु भएको हो ।
यसअघि कैलामा २ र नवलपरासीमा १ जनाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भइसकेको छ ।
कपिलवस्तु नगरपालिकामा पाँच वर्षीय बालक, कृष्णनगर नगरपालिकामा १५ वर्षीय किशोर, शुद्धोधन गाउँपालिकामा तीन वर्षीय बालिका र मायादेवी गाउँपालिकामा तीन वर्षीय बालकमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफ्लाइटिस रोग सर्ने चिकित्सकले बताएका छन् ।
जापानिज इन्सेफ्लाइटिस भाइरस भएका चराचुरुङ्गी, सुँगुर, बङ्गुर जस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा यो रोग सर्ने गरेको छ ।















