झापाको अर्जुनधारा नगरपालिका ९ खरबन्दीमा पूजाको प्रसाद खाएकामध्ये ५९ जना बिरामी परेका छन् ।
मङ्गलबार दिनभरजसो फुड पोइजन भएर बिरामी हुँदा बिरामी परेका ५९ जनामध्ये बिहीबार सम्ममा ५२ जना उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
अर्जुनधारा ९ स्थित खरबन्दीमा मङ्गलवार स्थानीय रीता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको थियो । प्रसाद खाएका अधिकांश बिरामीलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन् ।
बिरामी परेका अधिकांश बिरामीको कालिस्थानस्थित क्लिनिकमा उपचार भएको थियो भने स्वास्थ्य अवस्था नाजुक हुनेहरूको बिर्तामोडस्थित बीएण्डसी र मनमोहन अस्पतालमा पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बिरामीमध्ये स्थानीय १६ वर्षीय नीरज निरौला, ५२ वर्षीय कमला कटवाल, वर्ष २४ की विद्या कटवाल, वर्ष ९ का उत्सव काकी, वर्ष ८ की आहना भट्टराई, वर्ष ७ का राजन आचार्यलगायत ५२ जना डिस्चार्ज हुँदा हुँदा सोही स्थान वर्ष १८ की गोमा भुजेल, वर्ष–५५ की दुर्गा भुजेल, वर्ष ४० की तारा बस्नेत, वर्ष १५ का रिवस बाराकोटीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा, वर्ष ४१ की गोमा भट्टराई र २६ वर्षीय मनिता कार्कीको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनीहरूको अवस्था पनि सामान्य रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।