प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न शुक्रबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् । ओलीले बुधबार बोलाएको बैठक पूर्वतयारी नभएको कारण देखाएर शुक्रबारलाई सारेका हुन् ।

सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन् । संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार भदौ १९ मा नै सिफारिस हुनुपर्नेमा अहिलेसम्म परिषद् बैठक बस्न सकेको थिएन ।

प्रधानमन्त्री ओलीले बिहीबार सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा छलफल गरिसकेका छन् । संवैधानिक प्रावधान अनुसार एक महिना अगाडि प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिसदले सिफारिस गर्नुपर्छ ।

न्यायपरिषदले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आठ न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाइसकेको छ । सर्वोच्चको न्यायाधीशको वरिष्ठतामा न्यायाधीश प्रकाशमानसिंह राउत अगाडि छन् । त्यसपछि क्रमस नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडालको नाम परिषदमा पठाइएको छ ।