टर्की भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ९ हजार नाघ्यो

एजेन्सी  : टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ९ हजार नाघेको छ । टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ९ सय ५७ रहेको छ । सिरियामा ज्यान गुमाउनेको सङ्ख्या पुष्टि गर्न गाह्रो भइरहेको छ तर सरकारी सञ्चारमाध्यमहरूले झन्डै २५ सय जनाको ज्यान गुमाएका उल्लेख गरेको बीबीसीले जनाएको छ ।

सहायता संस्थाहरूले भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताइरहेका छन् । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ ।

उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले अघि बढाउन विश्वका विभिन्न देशले सहयोगी टोली परिचालन गरेका छन् । टर्कीका विपद् व्यवस्थापन निकायका अधिकारीले २४ हजार चार सय कर्मचारी भूकम्प प्रभावित ठाउँमा परिचालन भएका बताएका छन् । झन्डै छ हजार भवन भत्केकाले सबै ठाउँमा सहायता परिचालन गर्न कठिन भएको छ । सोमवार र मङ्गलवार कठ्याङ्ग्रिने चिसो तथा बारम्बारको पराकम्पका कारण उद्धार तथा राहतका कामलाई द्रूत गतिमा सम्पादन गर्न हम्मेहम्मे परेको थियो ।

युरोपेली सङ्घ, सङ्घमा आबद्ध १३ देशले राहत सामग्रीसहितको उद्धार टोली परिचालन गरेका छन् । मङ्गवार टर्की र सिरियाका भूकम्प पीडितका लागि चीन, भारत, जापान, फिलिपिन्स, अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशले आर्थिक एवम् भौतिक सहयोगको घोषणा गरेका थिए ।

टर्कीमा सोमवार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७ दशमलव८ म्याग्निच्युड र त्यसको केही घण्टापछि ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले देशको दक्षिण क्षेत्रका १० वटा प्रान्तमा सङ्कटकाल घोषणा गर्नुभएको छ । यो सङ्कटकाल तीन महिनाका लागि हो ।

सम्बन्धित समाचार