काठमाडौँ – कुशल भुर्तेलको शतकीय विस्फोटक ब्याटिङसँगै नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय शृंखलामा नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले जितका लागि दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ दशमलव ४ ओभरमा ८ विकेट गुमाएर भेट्टायो।
नेपालको जितमा कुशल भुर्तेलले शतकीय पाली खेल्दै सर्वाधिक ११५ रनको योगदान गरे। ११३ बलको सामना गरेका उनले १० चौका र ४ छक्का प्रहार गरे।
कप्तान रोहित पौड्यालले ७२ रनको योगदान गरे। सन्दीप जोराले २८ तथा ज्ञानेन्द्र मल्ले २५ रन जोडे।नामिबियाविरुद्धको खेलमा आज नेपालका ३ खेलाडीले कीर्तिमान बनाएका छन्।
नेपालका करण केसी एकदिवसीय क्रिकेटमा ५ विकेट ३ पटक लिने पहिलो नेपाली खेलाडी भएका छन्।कप्तान रोहित पौडेल अर्धशतकीय पाली खेल्दै एकदिवसीय खेलमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्।
कुशल भुर्तेलले पनि आइसिसी क्रिकेट विश्वकप लिग(२ मा शतक प्रहार गर्ने नेपालको पहिलो खेलाडीको रुपमा आफूलाई स्थापित गरेका छन्।यसअघि क्रिकेट मैदानमा टस हारेर शुरुवाती ब्याटिङ थालेको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८५ रन बनायो।
नामिबियाका माइकल भ्यान लिङ्गेनले शतकीय पाली खेल्दै सर्वाधिक १३३ रनको योगदान गरे। कप्तान गेरहार्ड इरास्मसले ५६ तथा जेन हरियोले ३४ रन जोडे।
बलिङतर्फ नेपालका करण केसीले कीर्तिमानी सर्वाधिक ५ विकेट लिए। सन्दीप लामिछानेले ३ विकेट हात पार्दा सोमपाल कामी र कुशल मल्लले १र१ विकेट लिए। जितसंगै नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले पहिलो खेलमा सफलता हात पारेका छन्।