बालुवाटार बैठक : कांग्रेसबाट को बन्दैछ राष्ट्रपतिको उम्मेदवार ?

'पावर सेयरिङमा उपराष्ट्रपति जसपालाई,माधवलाई एक वर्ष प्रधानमन्त्री बनाउने आश्वासन'

काठमाडौं – चार दलीय गठबन्धनबाट नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बनाउने गरी छलफल भएको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठकले राष्ट्रपति कांग्रेसबाट उठाउने विषयमा छलफल भएको हो ।

साँझ ५ बजे बालुवाटारमा बस्ने चार दलको बैठकले यसबारे औपचारिक निर्णय गर्ने महामन्त्री गगनकुमार थापाले जानकारी दिए। महामन्त्री थापाले भने, ‘हामीले सबै दलसँग छलफल गर्दै आएका थियौँ, सोही क्रममा आज चार दलका बीचमा छलफल भएको हो, आजको छलफल सकारात्मक छ, हामी एउटा टुङ्गोमा पुग्छौँ।’

राष्ट्रपतिमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्भावना बढी भएको नेताहरुले बताएका छन् । बैठकमा सहभागी एक नेताका अनुसार पौडेललाई राष्ट्रपति बनाउने विषयमा चर्चा भएको थियो । यसका साथै कृष्णप्रसाद सिटौलाको पनि चर्चा छ ।

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीले दाबी गरेको छ। यसमा कांग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरू सकारात्मक छन्। साथै सरकारको नेतृत्वबारे पनि छलफल भएको छ। यसमा माओवादी केन्द्र र एकीकृत समाजवादी पालैपालो सरकारको नेतृत्व गर्ने समझदारी बनेको हो।

सम्बन्धित समाचार