म्यानचेष्टर युनाइटेडले जित्यो लिग कप, ६ वर्षपछिको पहिलो उपाधि

म्यानचेस्टर युनाइटेडले सन् २०१७ यता पहिलो उपाधि जित्ने क्रममा आइतबार वेम्बलीमा लिगकप उचालेको छ । प्रतियोगिताको फाइनलमा उसले न्युकासल युनाइटेडलाई २–० ले पराजित गरेसँगै कप जित्न सफल भएको हो ।

न्युकासल भने सन् १९६९ यता पहिलो उपाधि जित्ने उद्देश्यमा भए पनि त्यसमा सफल रहन सकेन । युनाइटेडले पहिलो हाफमा ६ मिनेटको अन्तरमा गरेको दुई गोल नै खेलको नतिजा निर्धारण गर्न पर्याप्त रह्यो ।

व्यवस्थापकमा एरिक टेन हाग आएयता युनाइटेडले जितेको यो पहिलो लिगकप हो । युनाइटेडका लागि कासेमिरोले ३४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मार्कुस रासफोर्डले ४२औं मिनेटमा दोस्रो गोल गरे ।

युनाइटेडले ६ वर्षअघि व्यवस्थापकमा जोसे मोउरिन्हो हुँदा युरोपा लिग जितेको थियो । त्यही सिजन उसले लिगकप पनि हात पारेको थियो ।

सम्बन्धित समाचार